बेनामी सन्देश

१
विहानै निन्द्राले छोडे पनि अल्छी लाग्यो उठ्न। काठमाण्डौं को जाडो महिना यसै त मुटु काम्ने त्यसमाथि विदाको दिन। चाडैं उठेर गर्नु नि के छ आै जानु नै कता छ। यस्तै यस्तै सोचाईले दिमागलाई रिङग्याउन थाले पछी जुरूक्क उठें र लागे वाशरूम तिर।
चिया बोकेर बार्दलीको पारीलो घामको न्यानो लिंदै थिएँ, आँखा अनायासै सामुन्नेको घरमा ठोक्कियो। टिपर बाट धमाधम सामान झारिंदै थियो। मतलब एक महिना देखी खाली त्यो घरले डेरावाल पाएछ। साथैमा आएको ट्याक्सीबाट तिनजना ओर्लिए। अधबैंसे लोग्नेमान्छे आईमाई र एकजना बीस एक्काईसको जस्तो देखीने यौवना। म मनमनै लख् काट्दै थिएँ- पक्कै बुबा, आमा र छोरी हुनु पर्छ यिनीहरू; एक्कासी ति यौवना संग मेरो आँखा जुध्यो। उ मुसुक्क हाँसी तर म नदेखे जस्तो गरेर फरक्क फर्के र कप उठाएर भित्र पसे।
खाना खाएर टि.भी हेर्न बसें तर मन लागेन। जुन सिरीयल हेरे नि उस्तै उस्तै कथा। जुन कार्यक्रम हेरे नि उस्तै। दिक्क लागेर टिभी बन्द गरी पल्टें। झपक्क भएको थियो, डोरबेल बज्यो। ‘को रैछ बेला न कुबेला’ भत्भताउँदै ढोका खोलें। सामुन्ने त्यही बिहानको केटी देखेर अक्मकिएँ। ‘नमस्ते दिदी, म रीमा, तपाईंले विहान देख्नुभाथ्यो थाहा पाई हाल्नुभो होला म तपाईंकी छिमेकी……..’ उ अड्दै नअडी एकोहोरो के के बोल्दैथि, म ट्वाँ परी ढोकै नछोडी उभीराथें। ‘दिदी यहाँ पानी दुई दिन बिराएर आँउछ रे, पिउनलाई मिनरल वाटर किन्यौं, एक बाल्टी पानी पाइन्छ कि भनी…’ अघिबाट पछाडी लुकाई राखेको बाल्टी देखाउँदै उ ङिच्च हाँसी। त्यो हाँसोमा के थ्यो कुन्नी,म यन्त्रचालित हटें ढोकाबाट ‘भै हाल्छ नि, आउनुस न’ सपाट स्वरमा अनुमति दिएँ। पानी भरेर लाने बेला उही मीठो मुस्कान फालेर गै उ, अनि म उही निर्लिप्त भाबमा उभीरहें, उ सामुन्नेको घरमा नपुगे सम्म।
कोठामा पस्ने वित्तीकै आँखा ठोक्कियो भित्ताको ठूलो एेनामा- आेहो,म त कस्तो बूढी देखीन थालेछु। निस्तेज मुहार, निर्विकार आँखा, फुंग उडेको कपाल। मुस्कानको त टाढा टाढा सम्म चिन्है छैन। तर म सधैं यस्तो कहाँ थिएँ र। म पनि त रीमा जस्तै हसींली फरासिली थिएँ नि। सोच्दा सोच्दै म पुगें अतीतका पलहरूमा।
२
आमा बाबाकी पहिलो छोरी म, बाबाले निकै पुल्पल्याएर राख्नुभाथ्यो। म पछीको यौटा भाई, हामी दुईमा कहिल्यै फरक गर्नुभएन वहाँहरूले। केही कुराको फर्माईश गर्दा भूईंमा कुरा झर्न नपाई पुरा हुन्थ्यो। बाबा जागीरे हुनुहुन्थ्यो, राम्रो पदमा हुनुहुन्थ्यो,खानलाई के दुख हुन्थ्यो र चार जनाको परिवारलाई। तर हाम्रो यो सानो संसारलाई कसैको आँखा लाग्यो शायद, बाबालाई हर्टअटैक भयो र विना कुनै सूचना कालले लग्यो वहाँलाई। बस, त्यहाँ बाट शुरू भयो हाम्रो दुर्भाग्य।
आमा बेसहारा हुनु भो। आफन्तले आ-आफ्नो समस्या देखाई पन्छिए। बाबाको पेन्सन, सन्चय कोष सबै मेरो र भाईको पढाई र जीवनयापनमा सकिंदै गयो। विस्तारै विस्तारै हात मुख जोर्न पनि धौ धौ पर्न थाल्यो। जसोतसो मैले प्रमाणपत्र तह पास गरें र भनसुन गरी यौटा कोअपरेटीभमा काम गर्न थालें। दुखसुख गरी घर चलाई प्राईभेटमा स्नातक पनि गरे र अफिसर लेबलमा प्रमोशन पनि भयो। आमा ढुक्क हुनुभयो, भाईको पढाई पनि राम्रो हुन थाल्यो। तर यस बिच मेरो उमेर बिहे योग्य भयो। सपनाको राजकुमार बेला बला वायुपंखी घोडा चढी कल्पनामा आउन थाल्यो। योग्य उम्मेदवार कोही देख्ता गालामा लाली चढ्न थाल्यो। तर आमालाई शायद मेरो सपनाको ख्यालै थिएन, वा थाहा भएर पनि थाहा नभए जस्तो गर्नुभएको थियो, मजबूरी थियो वहाँको। मेरो बिहे भए घर कसरी चल्थ्यो, भाई भर्खर एस.एल.सी गर्दै थियो। व्यवहारमा परेर मेरो चंचलता गंभीरतामा परीणत भयो अनि मुस्कान कठोरतामा। बाबाकी सुमी मैडम सुमना बनी। पछाडी पछाडी मलाई ‘हेडमिस’ भनिन्छ, मलाई राम्रो थाहा थ्यो।
भाईले स्नातक गरे पछी मनमा थोरै आशा भो, अब मेरो नि घरजम होला। तर आशाको मुना त्यहीं निमोठीयो जब भाईले विदेश जाने अड्डी लियो। थोरै पुंजी पनि त्यस्मै लाग्यो, र म र आमा बच्यौं घरमा। २ वर्ष बित्यो, भाईले विदेशी केटी संगै घरजम गरी उतै बस्यो। आमा बित्नुहुदाँ नि भाई आएन, बहाना थियो छुट्टी मिलेन। म यो संसारमा नितान्त एक्लो भएँं, र अब यो एक्लोपन नै मलाई मनपर्न थाल्यो।
३
अतीतको पन्ना पल्टाउँदै कुनबेला निदाएछु थाहा भएन। ब्युझिंदा त सांझ परी सकेछ, हतार हतार खाना बनाई खाएँ र सुते, भोली यौटा अर्को उदेश्यविहीन दिन शुरू गर्न।
सधैंको दिनचर्या सकी अफीस जान निस्केको, टेम्पो स्ट्याण्डमा देखिइन रीमा। शुरू भयो उसको गन्थन। मेरो अन्तर्वाता लिन थाली, सब कोट्याई कोट्याई सोध्न थाली। न मेरो छोटो छोटो उत्तरको उसलाई असर पर्यो, न त उदासीन व्यवहारको। वरपरकाहरु पनि चाख मानी मानी उसको कुरा सुन्दैथे, मलाई चैं टाउको दुख्यो। विचमा उनी आेर्लदा लामो सास फेरे मैले। तर अब यो दिनहुँको क्रम बन्न थाली। उ कतै न कतै भेटी हाल्थी र कुनै आफन्तै जस्तो गरी झुन्डीहाल्थी, छोडेर जान्थी आफ्ना कयौं अनुत्तरित प्रश्नहरू। कैलेकहि सोच्थे म बेस्सरी गाली गरिदिउँ ‘तिमी को हौ मेरो जिवनमा अनाधिकृत हस्तक्षेप गर्ने’ भनी, तर किन किन सक्दिनथें। अब त मलाई पनि उसको बानी परेछ, भेटिन भने कता गई के भो भन्ने कौतुहल हुन थाल्यो। तर एकदिन त हद भो। शनिबारको दिन, सत्यनारायणको प्रशाद बोकेर दनदनाउँदै छिरीन कोठामै। के के, के के फत्फताउदै थिइन्, एक्कासी सोधीन्’ दिदी, तपाईं किन कहिल्यै हास्नुहुन्न?’ अप्रत्यासित सोधीएको प्रश्नले म अक्मकिए, भने ‘सबको मन, वातावरण एउटै हुन्न, कसैको अोंठमा हाँसो फुल्छ, कसैकोमा सुस्केरा।’ उ केही नभनी खुरूखुरू गई।
४
सधैंजस्तो घाम ताप्दै चिया पिउँदै थिएँ, कुन्नि कताबाट कागजको प्लेन आइ कपालमा ठोक्कियो। झनक्क रीस उठ्यो, यो टोलका बच्चाहरू अति अनुशासनहीन छन्। फन्किदै कच्याककुचुक पारी फाल्न आँटेको थिएँ, रातो मसीमा केही लेखिएको रैछ। उत्सुकतावश खोलेर हेरेको, लेखीएको रैछ’ तिम्रो मुस्कान कति मीठो होला,मुस्काएर त हेर’। आेह,यो त कसैको प्रेम सन्देश पो रहेछ, गलत ठाउँमा आएछ। लुगा फेरी यसो एेनामा हेरेको, विहानको लाइन याद आयो, मुस्काउन खोजें, कत्ति नसुहाएको मलाई मुस्कानले।
आजपनि घामसंगै चियाको सर्को तान्दैथिएँ, हिजो जस्तै कागजको प्लेन आई ठोक्कीयो कताबाट। जुरूक्क उठी पर पर सम्म हेरें,कतै कोही देखीन। कसले कसको लागी पठाएको सन्देश भूलबश यता आएछ। लेखिएको थियो- ‘तिमी कति सुन्दर छौ, यो सुन्दरतामा मोहक मुस्कान थपिए धपक्कै बल्थ्यौ होला।’
दुई दिनसम्म त कसैको सन्देश गल्तीले म कहाँ पुग्यो भन्ने सोचेको थिएँ, तेस्रो दिन पनि उही कुरा दोहोरींदा रीसले थरथर भएँ म। कसैले म संग जिस्कीएर मेरो खिल्ली उडाउँदै छ भन्ने पक्का भो मलाई। बार्दलीमा उभिएर टोलै थर्कने गरी कराएँ, ‘को हो काम नपाउने मान्छे, कोस्ले पठाएको यो यहाँ?’ अहँ, चाईंचुइ केही छैन। हुऱ्याइदिएँ कागज जुन बार्दलीको एक कुनामा खस्यो। अफीस जान सुरसार कस्ने बेला भैसकेकोले भित्र पसे फन्किंदै। टेम्पो कुर्दै गरेकी रीमाले सोधिन पछी के भो भनेर। किन हो कुन्नि उसलाई सब बेलिविस्तार लगाएँ। उ पनि छक्क परी सुनेर तर केही भनीन।
बेलुकी आएर यसो बार्दलीमा निस्केको, त्यो कागजमा आँखा पर्यो। कता कता के लेख्या रैछ हेर्ने कौतुहलता जाग्यो।लेखिएको रैछ ‘एउटा आईमाईलाई सुनचाँदीले भन्दा मुस्कानले सुन्दर बनाउँछ।’ ए बाबा, यो त मुस्कान विषयमा डाक्टरेट गर्दै छ कि क्या हो, मनमनै सोचेर हल्का हाँसो फुस्कियो। हतपत कसैले देख्यो कि भनि त्यो चिट बोकी कोठामा छिरें।
भोलीपल्ट बार्दलीमा गईन, कोठामै बसी चिया पिएँ र आफ्नो दैनिकी गर्न थालें तर अचम्म, मेरो ध्यान घरीघरी बार्दलीतिर तानिईरह्यो। खुल्दुली भै रह्यो,आज सन्देश आयो कि आएन। मन मानेन र निस्के त्यता, अपेक्षित संदेश आएको रैछ। कुनै चोरी पकडिए जस्तै वरीपरी आँखा डुंलाए र संदेश बोकी भित्र पसें, काँपेको हातले खोलें, लेखिएको थ्यो- ‘मैले भनिन? तिमीलाई मुस्कानले सार्है सुहाउँछ, हिजो देखें मैले।‘ मन ढ़क्क फुल्यो। को हो यो,मलाई यसरी नियाली बस्ने। पहिले त यस्तो कहिल्यै भएन। वरीपरी कुनै परीचित, अपरिचित पुरूष अनुहारको चित्रण गरी हेरे। अहँ, कुनै पुरूषको आँखामा आफ्नो लागी यस्तो भाव भेटिन मैले। सामान्य बोलचाल हुन्थ्यो छरछिमेकमा, नभएका संग देखादेख हुन्थ्यो तर आफुप्रति त्यस्तो विशेष लगाव कसैको मुहारमा देखीन।एक्कासी मैले सामान ल्याउने पसलको वसन्त सम्झें, म क्याम्पस जाँदा पछीपछी आउथ्यो। एकदिन त कताबाट बाईक लिएर आएछ र पुऱ्याइदिन्छु आउ बस भन्न थाल्यो। मैले पर्दैन म बसमा जान्छु भनेर हिंडे तर कति सम्म उसको निराश अनुहारको झझल्को आई रह््यो। तर उ त्यसपछि कहिल्यै बोल्न आएन। अब अहिले दुई तरूनी छोरीको बाबु भएर……असंभव। फेरी दुई घर उताको प्रकाश सम्झें। मनै पर्दैन त्यो मोरो, जहाँ देखे नि घूरी घूरी हेर्छ। आँखा फुटाईदिऊँ जस्तो लाग्छ, तर के गर्नु, टोलको गुण्डो, म एक्ली आईमाई। तर जवानीमा नपठाएको सन्देश एेले पठाऊला त त्यसले?
दिमाग रन्कियो मेरो। एकछिन फ्रेश हुन निस्कें, सम्झें फोनमा ब्यालेन्स छैन। ऊफ्फ कति चाडो चाडो सकिने हो यो पैसा पनि मोबाईलमा, सोच्दै पुगें घर अगाडीको किताब पसलमा। दुई सयको रिचार्ज कार्ड माँगे, तर साहुजीले ङिच्च दाँत देखाएर भने ‘बस्नुस न, म दिई हाल्छु।’ आेहो, कति बेर लगाएको त्यति रिचार्ज कार्ड दिन, म पछि आउने कति आउदै गईसके। सधैं यस्तै गर्छ यो मान्छे, कुराई राख्छ। अझ हेरीरहन्छ, आँखा जुधे ङिच्च हाँस्छ, पारो तात्तिने गरी। बल्ल बल्ल रिचार्ज कार्ड लिएँ । कतै यसैले त ……..।
५.
यो संदेश आउने क्रम दिनहु चल्न थाल्यो। थाहा छैन कैले देखी म आफै सन्देश कुर्न थालें, पैले एेना हेरी मुस्काउन थाले, अनि रीमा संग, अनि अफिसका स्टाफ संग। सब चकित भए मेरो अनुहारमा चमक देखी। अब त काम गर्दा गुन्गुनाउन थालेछु, लवाई खवाईमा पनि ध्यान दिन थालेछु। मेरो छेवै पर्न डराऊने प्रमिलाले त मुखै फुटाएर भनी ‘मैडम,हजुर कत्ति फेरिनुभो, कति राम्री देखीन थाल्नुभो।’ उसको कुरा सुनी लाग्यो, मैले जिउनु भुलेथें, ममा फेरी जीवन संचार भो।
फुर्सदको बेला रीमाको वासै मेरो घरमा हुन थाल्यो। घन्टौं गफ मार्थ्यौ,हाँस्थ्यौ, मानौ हामी सहोदर दिदी बैनी हौं। हुन पनि हामी आफन्तै जस्तो दुख, सुख बाड्न थालेथ्यौं। मलाई नयाँ जिवन दिने त्यो बेनामी सन्देश आई नै रह्यो, म मा जिवन संचार गरी रह्यो, मलाई प्रगतिको मार्गमा डोऱ्याई नै रह्यो। तर धेरै कोशीस गर्दा पनि त्यो सन्देशवाहक पत्ता लगाउन सकिन। बाटो हिड्दा कतै भेटिन्छ कि भन्ने झीनो आस, आसै बनीरह्यो।
अफीसबाट घर आई टुसुक्क बसेको थिएँ, चियाको तलतल लाग्दै थियो तर थकानले उठ्नै मन थिएन, डोरबेल एकतमासले बज्यो। रीमा रैछे, ‘दिदी, ट्वाईलेट हतार भो, हट्नुस न’ भन्दै ढकेल्दै भित्र पसी। हातमा बोकेको कपी पलंगमा फुत्त फाली ब्याग टेबलमा थचारी दौडी। ‘अचम्मकी छे यो केटी’ मनमनै सोच्दै थिएँ, आएर ननस्टप बोल्न थाली ‘हेर्नुन आजै मेरो चाबी लिन भुलेको आजै ममी ताला मारी कता जानुभएको, त्यसमाथी ट्वाईलेट लागेर बिजोग। चिया खानु भो? ‘ मैले छैन भनी टाउको हल्लाएँ। ‘अल्छी गरी बस्या? ल ल आराम गर्नु म बनाउँछु चिया।’ दश मिनेटमा म फ्रेश भै सकेथें, रीमाको चिया र ब्रेक नलाग्ने गफले। चिया खाईसकी झ्यालबाट हेरी ‘ममी आईसक्नु भएछ, एेलेसम्म साथीहरूलाई कल गर्न भ्याईसक्नुभो होला म हरायो भनि’ भन्दै दौडी रीमा। म कप बोकी भान्छातिर लागें खानाको बन्दोवस्त गर्न। खाटमा झ्वाट्ट आँखा पर्यो, ‘लौ यो केटी पनि, कपी यतै …..’ बाँकी शब्द घाँटीमै अड्क्यो। कप टेबलमै राखी म दौडीए ड्रअर तिर, जहाँ सम्हालेर राखेको थिएँ मैले मेरो अमूल्य निधी, बेनामी सन्देश। यौटा यौटा अक्षर दाँजेर हेरें त्यही कपीको नेम ट्याग संग,जहाँ लेखीएको थियो ‘रीमा संग्रौला’- रातो मसीले।
****
Text by: Angela Shrestha
Images: Bikkil Sthapit
Tags: Angela Shrestha, Nepali Literature, Nepali Story, Writing In Nepali
Categorised in: Reading in Nepali