चकलेट बाजे

तिन ताका म पाँच वर्षको थिएँ होला । एल.के.जि. मा पढ्थेँ । नर्सरीसम्म त स्कुल जान रमाइलै हुन्थ्यो । ५ मिनेट परको स्कुल । न धेरै पढाइ, न त धेरै झन्झट । पिङ्ग, चिप्लेटि, ढिकिच्याँउ खेल्न पाएसि हुरुक्कै। तर मेरो खुसी पनि धेरै दिन टिकेन। साबुनका फोकाजस्तै फुटिनैहाल्यो। नर्सरीबाट सेकेन्ड भएर ठूलो क्लासमा गइयो। नर्सरीमा क,ख,ग,घ…. ए,बि, सि,डि, ड्रङिग मात्र पढ्या बानी, एल.के.जि पुगेसि त किताबहरु थपिँदै गए। भारी ब्याग र नमिठो मन लिएर स्कुल जान थालियो। म्याथ पढाउने एकजना मिस थिइन। सा-है डर लाग्थयो। अहिले सम्झिँदा नि किन किन आङ सिरिङ्ग भएर आँउछ। ती मिसले हाम्लाई न लट्ठिले हान्थिन् न नै कुखुरा बनाँउथिन्, उनले एक टक लाएर पाँच मिनेटसम्म आँखा तर्थिन र हामी सब यत्तिकै थुर् थुर्। तर ति मिस देखि ५-६ क्लासमा पढ्ने दाइ-दिदी पनि तर्सिन्थे र हत्पति अघि पर्दैनथे। म अहिले सम्झिन सक्दिन। मात्र यति याद छ कि प्लेग्राउन्डमा पनि ति मिस देख्ने बित्तिकै हामी तीन कोस पर टाप ठोक्थ्यौँ। मलाई स्कुल प्रति वितृष्णा जाग्दै आयो अझ भनुँ भने स्कुल-फोबिया नै भयो। स्कुल जानुपर्ने डरले हरेक बिहान मेरो पेट कुँडिएर आउँथ्यो, लाग्दथ्यो कि कुनै ज्वालामुखि नै विस्फोट हुने तरखरमा छ। पेटबाट लगत्तै ज्वारभाटा निस्कन्थ्यो र म हरेक दिन भमिट गरेर मात्र स्कुल जाने भएँ। मलाई बिहानको खाना खान मन लाग्न छोड्यो। मेरा आमाबुवा मेरो पछि पछि भुजाको थाल लिएर घुम्न थाल्नुभयो। घरमा हरेक दिन म्याराथनको तयारी गरेझैँ सबै कुद्न थाले। म अघिअघि, मामु बाबा पछिपछि। केहि बेरमा मेरा साना खुट्टाहरु थाक्थे र मामु बाबाले जित्नुहुन्थ्यो। जबरजस्ति कोचाइएको भातका सिताहरु पेटमा पुग्न नपाँउदै लगत्तै बाहिर निस्किन्थ्यो। कहिले भुइँमा त कहिलेकाहिँ मामुको सारीमा। अनि मामुको गाली र मेरो रुवाबासीले सारा घर गुञ्जायमान हुन्थ्यो। शनिबार र आइतबार विदा हुने भएकोले मेरो पेटले आराम पाउँथ्यो र मेरा बुवाआमाका गोडाले पनि। हप्ताका दुई दिन बाहेक त्यसकारण स्कुलका अघिल्ला दिनहरु रमाइला भएनन्। र मलाई त्यति पनि सम्झन मन लाग्दैन। तर एकजना मान्छे यस्ता थिए जसको नाम सम्झिंदा मनै आनन्द भएर आउँछ।
ती एक बुढा मान्छे थिए। लगभग सत्तरी वर्षजतिका होलान्। हिमाल टाकुरामाथिका हीऊझैँ सेता उनका कपालमाथि कालो भादगाँउले टोपी शोभायमान हुन्थ्यो। उनका नाकमा जन लेननकाझैँ ठुला गोला चस्मा अडिन्थे। आइरनका क्रिज टक्क बसेका कमिज सुरुवाल माथि चट्ट कालो इस्टकोट पहिरिएर ठाँटका साथ उनी सधैँ त्यो बाटो हिँड्थे। झ्वाट्ट हेर्दा गिरिजा प्रसाद कोइराला जस्ता देखिन्थे। त्यति खेरको बाल्यावस्थामा कुनै मान्छे नेता जस्तो भएर सम्झिने त कुरै भएन। ती बुढा मान्छे अरु भन्दा फरक थिए। जब हरेक बिहान म आमाले हात समातेर स्कुल पुर्याउन लाग्दा रूँदै हिँडिरहेकी हुन्थेँ, तब ती मान्छे मेरो अगाडि आएर टक्क उभिन्थे र आफ्ना चाउरिएको हात इस्टकोटको खल्तिमा हाल्थे र म निर आएर एउटा अरेन्ज बल हातमा थमाइदिन्थे। ती मेरो मुख हेरेर एक पल्ट हाँसिदिन्थे र आफ्नो बाटो लाग्थे। त्यति खेर अहिले जस्तो तमीज, सोमत, केहि थिएन। हातमा परेको चकलेट छोडेर को थ्याङ्क्यु मा समय खेर फालिरहोस्! क्वाप्प मुखमा हाल्यो अनि फेरि रुँदै स्कुल गयो। यो दृष्य हरेक दिन दोहोरिन्थ्यो। ती बुढा मान्छे दिन नबिराई मेरो हातमा अरेन्ज बल हालिदिन्थे। उनले म रोएको देखेर माया लागेर मात्र क्यान्डि दिने गरेका थिएनन्। बाटा भरिका सबै भुराभुरीहरूलाई उनी त्यसै गरी अरेन्ज बल दिन्थे। उहिले आमाले पसलमा लगेर बेलाबखतमा किनिदिने किन्डर जोय, डेरि मिल्कभन्दा धेरै गुणा बढि खुसी त्यति खेरका ती स-साना सुन्तला रंगका गोलामा पाइन्थ्यो। यसरी हरेक दिन बाँड्दा नि नसकिने ती चकलेट देखेर मलाई लाग्दथ्यो कि यी बुढा बाको खल्तिमा कसैले नदेख्ने अरेन्ज बल फ्याक्ट्रि छ। शनिबारको दिन कहिलेकाहिँ बुवासँग नक्साल भगवति मन्दिर गएर फर्कँदा पनि ती मान्छे सदाझैँ हाँडिगाँऊ डबलि वरिपरि हिँडिरहेका हुन्थे। र त्यहाँ पुग्ने बित्तिकै फेरि हाँस्तै हातमा चकलेट थमाइदिन्थे। हाँस्दा उनको आँखा वरिपरि मुजा पर्थ्यो र उनको आँखामा एक किसिमको चमक देखिन्थ्यो। उनको साँचिकैको नाम कसैलाई थाहा थिएन। सबै भुराभुरीलाई क्यान्डि बाँड्दै हिँड्ने उनको नाम नै चकलेट बाजे हुन गयो। दिनदिनै उनको हातबाट चकलेट लिएपनि उहाँसँग मैले दुई शब्द बोलेको याद छैन।
कक्षा पाँचसम्म म त्यहि स्कुलमा पढेँ। त्यसपछि हामी जोरपाटीमा नयाँ घर बनाएर सर्यौँ। अनि हाँडिगाँऊ पनि छोडियो र त्यो स्कुल पनि। पछि भाटभटेनि, नक्सालतिर गइए पनि हाँडिगाँऊका ती गल्ली, चोक हिँड्ने मौका नि परेन र हिँड्दा पनि हिँडिएन। त्यति खेरका धेरै साथिहरू छुटे, अहिले त याद पनि आउँदैन। चकलेट बाजे पनि त्यस पछि भेटिएनन्।
नेपाल बन्दको दिन थियो। कुन चाहिँ विद्यार्थी संघले खाना पकाउने ग्याँसको भाउ बढेर बन्द गर्या रे। दरबारमार्गमा १० बजे मिटिङ्ग भ्याउन पुग्नुपर्ने। जोरपाटिबाट ८:३० मा निस्केको, बिस्तारै हिँड्दै सवा एक घन्टामा हाँडिगौँउ पुगियो। अलि अघाडि कृष्ण मन्दिरको अगाडिको बाटोमा लगभग ६-७ जना बच्चाहरू बन्द र खालि बाटोको मौका छोपेर तीनवटा ईंटा, एक माथि अर्को ठड्याइ सटम्प बनाएर डिउज बलको सट्टा पहेँलो टेनिस बलले क्रिकेट खेलिरहेका थिए। सटर बन्द गरिएका पिंढीमा दुई-तिन जना बुढाहरु चुरोट तान्दै अगाडिको गेम हेर्दै थिए। छेउमै एउटा गाडामा एकजना दिदि काँक्रो, खरबुजा र भुईँकटर बेच्दै हुनुहुन्थ्यो। सार्हे थाकिएकोले र केहि रसिलो खान मन लागेकोले म त्यहिँ अडिएँ। एक प्लेट फलफुल मागेर खाँदै म ती बच्चाहरुलाई हेर्दे थिएँ। बन्द हुँदा पहिले कति आनन्द आँउथ्यो। न स्कुल, न केहि झन्झट। दिनभरि मस्त डुल्यो। अहिले भ्याइनभ्याइ छ। ती बच्चाहरुलाई हेर्दे गर्दा त्यहाँ एकजना बृद्ध आइपुगे। अलि नजिक आएपछि थाहा भयो, ती बृद्ध चकलेट बाजे रहेछन्। उनी नजिक आएपछि बच्चाहरू बल ब्याट छोडेर कुद्दै उनी भएनिर गए। आफ्ना हातहरु खल्तिमा छिराएर उनले हातभरि अरेन्ज बल निकाले। एकैछिनमा उनको हात रित्तियो। एक-दुई जनाले थ्याङ्कयु भने, बाँकि ती अरेन्ज बलका खोलहरु निकाल्नमै मस्त भए। ती बाजे बिस्तारै हिँड्दै मेरै अगाडि आइपुगे। ढाड बढि कुप्रिएछ। चस्माको पावर बढेर होला सायद, अझ मोटो भएछ। गाला र हात धेरै बढि चाउरिएछ, हिँड्दा बेतको लौरीको सहारा चाहिने भएछ। तर त्यहि लवज, त्यहि छाँट। पुरानै मुस्कान मुखमा नचाँउदै उनले मलाई हेरे। मलाई लाग्यो उनले मलाई चिने। अब मलाई पनि पहिलेझैँ अरेन्ज बल दिनेछन्। अनि म यो पालि भने धन्यवाद भन्ने छु, अहिले पाउने क्यान्डि र पुराना सबै क्यान्डिहरुको लागि। उनको साँच्चिकैको नाम सोध्ने छु र एकछिन कुरा गर्नेछु। तर ती बाजेको आँखा बाटोतिर फर्क्यो। १३ वर्ष कटिसकेको थियो होला, उनले मलाई कहाँ चिन्नु, २३ बर्ष नाघेको मान्छेले कहाँ चकलेट पाउनु? ती बाजे भिमसेनथान जाने बाटो मोडिए। मलाई उनिसँग मेरो बाल्यकाल पनि गएको महसूस भयो। म फलफुल खाएको प्लेट गाडाको छेउमा राखेर, पैसा तिरेर, आफ्नो बाटो लागेँ। मिटिङ्गलाई ढिला हुन लागिसकेको थियो।
शब्द: प्रज्ञा थपलिया
Tags: chocolate bajey, literature, Nepali, short story, चकलेट बाजे
Categorised in: Reading in Nepali