Logo

नाकाबन्दीमा लभ्

February 14, 2016 , by Pragya Thapaliya, Leave your thoughts
नाकाबन्दीमा लभ् » My Dreams Mag

“स्मृति। ए स्मृति।”

“होइन, यो केटी अझ सुतिरा’छे कि क्या हो?”

“साढे सात बजिसक्यो”

“उठ् भन्या सुनिनस्? होइन। तँलाई त्याँ आएर पानी खनाउनुपर्यो मैले?”

पानीको नाम सुन्ने बित्तिकै ऊ झण्डै एक हात माथि उफ्री। पछिल्लो चोटि उठ् भन्दा नटेर्दा आमाले साँचै पानीको गिलास खनाइदिनुभा’थ्यो। पूस महिनाको मुटु खाने जाडो, बिहान बिहान खाटैमा जल-स्नान गर्न उसलाई फिटिक्कै मन थे’न। ऊ कुदेर बाहिर निस्की र दुई तल्ला तलको ट्वाइलेट झरी। ट्वाइलेट बाहिर’नि लाइन रै’छ। कस्तो चैँ घर बनाएछन् हजुरबाउले, उसले सोची।

तिन तल्लाको घरमा दुइटा ट्वाइलेट, त्यो ‘नि ते’तिखेर घरभित्र ट्वाइलेट बनाए फोहोर हुन्छ भनेर घर छेउको अलिकति खालि जग्गामा बना’को। दुइटा ट्वाइलेट- एउटा घरबेटि र अर्को भाडामा बस्नेलाई छुट्टाएको थियो। आफ्नो पट्टिको ट्वाटलेट दुई दिनदेखि जाम भएकाले ऊ भाडावाल पट्टिकोमा लाइन लागी। लाइनमा बस्ने एउटा प्लस-टुमा पढ्ने फुच्चे र उसको अगाडी अर्को कोठामा बस्ने पुजा दिदी रै’छिन्। फुच्चेको हातमा नोकिया एक्सप्रेस म्युजिक थियो र ऊ बिहान बिहानै हनि सिंगको खै कुन चैँ गीत मोबाइलमा घन्काइरा’थ्यो। केटा उसलाई हेरेर फिस्स हाँस्यो। ऊ देख्या नदेख्यै गरेर लाइन पछाडि गई।

यो जिन्दगी पनि लाइनाँ बस्दा-बस्दै सिद्धिने भो, उसले सोची। हिजो ‘नि बिहानभर ग्याँसको लाइनमा बस्नु परेको। बिहानै पाँच बजे उठेर जाँदा ‘नि आधा सिलिण्डर ग्याँस नपाएर रित्तो सिलिण्डर गुडाउँदै ल्या’को सम्झेर उसको मनै नमीठो भएर आयो। बुवा सानो छँदा काम गर्न जापान गएदेखि घर बाहिरको सब कामको जिम्मा उसकै हातमा थियो। आमा भन्थिन्, “एउटा छोरा नपा’ भएर मैले त्यो बेला कति बचन सहनुपर्यो। तैँले मेरो नाक राखिस्।“

* * *

हिजो तिन घण्टा लगाएर सिलिण्डर कुरेको ‘नि बल लगाएर अरू कसैले नै लगेपछि, उसको दिनै खराब भ’को थियो। उसको नाम ग्याँस लिनलाई टिपा’को लिस्टमा २८२ नम्बरमा रहेछ। बिहान पाँचै बजेतिर छिमेकका रमेश दाइले आमालाई आज ग्याँस बाँड्ने हल्ला छ भनेर फोन गरेछन्। आमा र छोरी, दुईजना मिलेर पाँच मिनेट परको ग्याँस पसलसम्म सिलिण्डर पु-याए।

पसल पुग्दा आफूभन्दा आगाडिनै मान्छेको ताँती लागिसकेको रहेछ। साङ्लामा लगभग तीस-चालिसवटा जति ग्याँस बाँधेर लाइनमा राखिएको थियो। उसले लगेर आफ्नो ग्याँस पनि त्यतै बाँधी। आमा ग्याँस उसको जिम्मामा छोडेर लगभग छ बजेतिर घर जानुभयो। उसले इयरफोन निकालेर कानमा हाली, अनि विपुल क्षेत्रिको ‘असार’ सुन्न थाली। गीत सुनेर उसलाई पनि यो काठमाण्डौभन्दा त त्यो कालेम्पुङ् शहरनै जान पाए ‘नि हुन्थ्यो भनेर मनमा लाग्दै गयो।

ऊ एकसुरमा गीत सुनेर भुलिरा’थी एकजना हस्याङ-फस्याङ गर्दै आइरहेको केटाले उसको खुट्टामा किल्चेर अगाडि गयो।

“कुन चैँ मोरा रे’छ, छालाको जुत्ताले किल्चेर गयो। अझ एक चोटि सरि भन्ने सोमत नि छैन रे’छ।“, ऊ रीसले मुर्मुराउँदै सोचिराथी।

अलि अगाडि पुगेपछि केटा फर्कियो, “आइ एम् सरि” भन्यो र उसको प्रत्युत्तर नसुनी अगाडि गइपनि हाल्यो।

त्यो केटा पनि ग्याँसकै लाइनमा बस्न आएको रहेछ, उसले एकछिनमा देखी। अगाडि ग्याँस पसलेसँग के के भन्दै कुरा गरिरारे’छ। एकछिन पछि ऊ भन्दा तीनजना पछाडिको मान्छेले आफ्नो सिलिण्डर त्यै’ केटाको जिम्मा लगाएर गयो। उमेरमा पाको देखिने व्यक्ति केटाको बाउ’ होला भनेर उसले अनुमान गरी।

त्यो केटाले अघि कुल्चेको उसलाई अहिलेसम्म रीस मरेको थिएन। केटा लगभग त्यस्तै २३-२४ को जस्तो देखिन्थ्यो। बिहानै कपाल ठाडठाडो पारेर जेल लगाएर आएको रहेछ। बिहान कपाल कोर्न त के, उसले मुख धुन ‘नि सम्झे’की थीन’ हतारमा। उसलाई केटाको मुख देखेर त्यत्तिकै रिस उठेर आयो।

लगभग ७:३० तिर ग्याँस आयो। चारैतिर हुल बढ्यो। पुलिसदेखि, रमिता हेर्नेहरुसम्म जम्मा भए। बाटो पारि उभ्भिएका एक दुई जनाले ग्याँसको लाइनको फोटो पनि खिचे। त्यहाँ ग्याँस लाइनमा बाँधे पनि, नम्बर टिपाए पनि, सब ‘जसको शक्ति, उसको भक्ति’ भनेझैँ अगाडि गएर ग्याँस लग्न थाले। छिमेकका रमेश दाइले आफ्नोलागि सिलिण्डर लगेपछि उसलाई मद्दत गर्न आए। अन्तिम ग्याँस हातमा के लाग्नै लाग्या’थ्यो, पछाडिको केटा आएर हत्तनपत्त समातेर लगिहाल्यो।

रीसले आँखा नदेखेर ऊ कराई, “होइन, लाइन पछाडि बसेर पनि ग्याँस खोसेर लग्न लाज लाग्दैन भन्या?”

केहि बेर अघि केटालाई ग्याँस जिम्मा लगाएर जाने अधबैँसे मान्छे बाइकमा आएको रहेछ। केटाले उसलाई एक चोटि हेर्यो अनि केही नसुनेझैँ गरी त्यै बाइकमा ग्याँस लिएर गयो। ऊ बाइक हेरेको हेरै भई।

* * *

समृति ट्वाइलेट गएर माथि भान्सातिर लागी। आमा चैँ’ कौसीतिर लाग्नुभएछ। भुईँमा तिनवटा इँट्टाको बीचमा दाउरा बालेर आमा डेक्चिमा दाल बसाल्दै हुनुहुँदो रहेछ। दाउराको रास अड्याएको एक कुनाको छेउको पर्खालमा गएर ऊ अडेस लागेर बसी।

“त्यता नबस, भित्ता चर्क्या’छ!”, आमाको स्वर सुनेर उसले पछाडि फर्केर हेरी। भुँइचालाले गारोमा एक हात लामो धर्सा बनाएको रहेछ। ऊ उभिएर त्यो ठाउँबाट पर हटी। दाल उम्लिएर अलिकति पोखियो। आमाले हत्तनपत्त कपडाले दुई छेउमा समातेर डेक्चि उठाउनुभयो।

“तल जाउँ अब। भात पकाइसकेँ, तरकारी हिजो बेलुकाकै बाँकि छ। तलाईँ कलेज जान ढिला होला फेरि। बस नि ट्याममा पाइने हो कि होइन?”

स्मृति यसो सोच्न थाली। हिजो बेलुका Carpool Kathmandu भन्ने ग्रुपमा उसले

‘#Ask Nakkhu to Tangal. At 9:30 am’ भनेर पोस्ट गरेकी थिई।

रिम्शाले अस्ति लिफ्ट पाएको सुनेपछि उसलाई पनि हस्याङ्ग-फस्याङ्ग गरेर कलेज जानुभन्दा लिफ्ट माग्नु नै निको लाग्यो। ग्रुपमा गएपछि उसले देखि, त्यस्ता पोस्ट त मिनेटमै तीन चारवटा हुँदो रहेछ। कसैले पोस्टमा कमेन्ट गर्ला र कलेज जान पाइएला भन्ने आश नै लागेन उसलाई। त्यहि पनि के जान्छ र भनेर उसले पोस्ट गरिहालेकी थिई।

आमाले बसको कुरा निकालेपछि उसलाई याद आयो। कसैले फेसबुक पोस्टमा रेस्पन्ड पो गरिहाल्यो कि? खाना खाएर ऊ हतनपत्त कोठामा कुदी र राउटर अन गरिहाली।

स्मृतिले फेसबुकमा लग इन गरी। ८ वटा नोटिफिकेशन आएको रहेछ। क्यान्डी क्रशको इन्भिटेशन देखि फुपुले आफ्नो प्रोफाइल पिक्चरमा ट्याग गरेको सम्म। भान्दाइको मास्टर्स ग्राजुएशनलाई अमेरिका गएदेखि फुपुको प्रोफाइल पिक्चर दिनकै दुईताल फेरिन थालेको थियो। साथमा ३ वटा मेसेज पनि आएको रहेछ। एउटा साथीहरुको ग्रुप च्याटको, अर्को बुवाको रहेछ। तेस्रो चैँ कुन चैँ Avinash Timilsena भन्ने अपरिचित मान्छेले पठाएको रहेछ।

उसले मेसेज खोलेर हेरी।

लेखेको थियो, “Hi, You posted a request in carpool around two hours ago. I am going to Gaushala around the same time. I could drop you. Text me if you are up for it.”

मेसेजको अन्त्यमा उसले आफ्नो फोन नम्बर पनि पठाएको रहेछ।

“मेसेज हेर्दा त मान्छे भलाद्मी जस्तै देखिन्छ, लिफ्ट पो लिने हो कि होइन”, उसको मन दोधारमा पर्यो।

“एक ताल प्रोफाइल खोलेर हेर्नुपर्यो। फेरि कस्तो मान्छे हो”, उसले सोची।

फ्रोफाइलमा ब्याटमानको जोकरको फोटो रहेछ, अनि कभर फोटोमा म्यान्चेस्टर युनाइटेडको लोगो। प्राइभेसि सेटिङ्ग स्ट्रङ्ग रहेछ, उसले अरु केहि हेर्न सकिन। अब जे पर्ला पर्ला, साढे आठ त यहिँ बजिसक्यो। उसले मोबाइलमा सेन्ड मेसेज अप्शनमा गएर लेखी-

“Hi. Thanks for the response. What time and where do I meet u?”

अनि त्यो मान्छेको नम्बर हालेर सेन्ड गरिहाली। मेसेज पठाएपछि उसलाई याद आयो। उसले त आफू को हो भनेर लेखेकै छैन रैछे। फेरि उसले अर्को टेक्स्ट टाइप गरेर सेन्ड गरी -
“btw, this is abt that carpool post last night. Thnx again”

अनि दुई मिनेट पछि उसको फोन कराउन थाल्यो। त्यो मान्छेको रेस्पन्स आएछ।

“no problem. Lets meet at the Nakkhu pul at 9:15 if that’s fine. Malai ali chado janu parne bhayo. Will see u there.”

सवा नौ हुन ३० मिनेट बाँकि थियो। ऊ हत्तनपत्त लुगा लगाएर आमालाई बाइ भनेर घरबाट बाहिर निस्की। उसलाई बस स्टपसम्म पुग्न ५ मिनेट लाग्यो। पुग्दा ९:१२ भएको रहेछ। ऊ त्यो बाटोबाट गइरहेको सबै बाइकहरुलाई हेर्न लागी। यो हो कि त्यो हो भन्दाभन्दै ६-७ मिनेट बित्यो। त्यो मान्छे आएन। “न आएर पनि गयो कि मलाई नचिनेर। अन्तै कुरिरा’छ कि? कि आँउछु भनेर मलाई झुक्कायो?”
उसले एकताल फोन गर्नु पर्यो भनेर मोबाइल निकाल्दै मात्र थिई, एकजना मान्छेले “एक्सक्युज मी” भनेर बोलायो।

उसले फोनबाट आँखा हटाएर छेउतिर हेरी। हेर्दा त बाइकमाथि बसेको हिजोको ग्याँस लग्ने केटा रहेछ। उसले एकछिन रिसले केही बोल्न सकिन। त्यो केटाले ‘नि उसलाई चिनिहाल्यो अनि भन्यो,

“हाहा। तिमी पो हो त्यो कारपूलमा पोस्ट गर्ने? प्रोफाइल पिकमा त अर्कै देख्या थ्यो’! यता पनि भेट भो’। त्यो ग्याँसको लागि सरि है। ‘इच म्यान फर हिज ओन’ यो नाकाबन्दिको बेला त!”
त्यो केटाले एकै सासमा यो सब भन्यो। ऊ हेरेको हेरै भई। त्यो केटाको पछाडिको घाम उसको आँखामा पर्यो। उसले तल तिर हेरी। अब उसलाई त्यो बाइकमा चढ्न रत्तिभर पनि मन लागेन तर बस कुर्यो भने कलेज जान आधा घण्टा ढिलो हुने पक्का थियो। नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार। उसले मन लागी-नलागी ‘इट्स ओके’ भनी

केटाले “ल बस” भन्यो।
ऊ पछाडि बसी।
बाटोमा केटाले “अनि तिमी जाने चैँ कता हो भनेर सोध्यो। उसले “टंगाल नजिकै मेरो कलेज छ” भनी।

केटाले “ए!” भन्यो अनि बाटो भरि केहि बोलेन। उसलाई पनि केहि सोधुँ जस्तो लागेन। केटाले बाइक बेस्कन कुदाउला कि भन्ने उसलाई डर थियो। तर उसले बाइक पनि ठिक्क स्पिडमा हाँक्यो। गणेश-मन्दिर अगाडि आएपछि उसले “मलाई यतै रोक्दिए हुन्छ भनी”

केटाले बाइक छेउ लगायो अनि ऊ झरी।

उसले “थ्याड्क यु सो मच” भनी।

केटा अलिकति हाँस्यो अनि “नो प्रबलम। ल ह्याभ अ नाइस डे” भनेर आफ्नो बाटो लाग्यो।

त्यो केटाको हाँसो देखेर उसको रिस अलिकत मर्यो।

* * *

क्लास सिद्धिएर घर पुग्दा ५:३० भइसकेको थियो। घर पुगेर उसले लुगा फेरेर हात मुख धोई। लोडशेडिङ्ग याप् हेर्दा बत्ति सात बजे जाने रहेछ। भान्सामा गएर इन्डक्शन कुकरमा भात बसाली अनि भात पाकुञ्जेल फेसबुक खोली। फ्रेण्ड रिक्वेष्ट आएको रहेछ। को भनेर हेर्दा बिहानको केटाको रहेछ।

उसलाई एसेप्ट गरूँ कि नगरुँ भो।

बिहान विचरा त्यता सम्म पुर्याइदियो, उसले राम्ररी बोल्दा ‘नि बोलिन। के सोच्यो होला त्यो मान्छेले।

उसले रिक्वेस्ट एसेप्ट गरी। गरेको एक मिनेट मै उसको मेसेन्जर करायो। त्यो केटाले मेसेज पठाएछ।

“ghar pugyou?”

“hoina. Batomai chhu.”

उसले सार्क्यास्टिक जवाफ पठाई। पछि फेरि त्यो मान्छेले के सोच्ला भनेर “jk. got back around 30 mins ago. u?” लेखी।

“ma ako 10-15 min bho.”

“eh. Okay”
तीन चार मिनेटसम्म केटाको प्रत्युत्तर आएन। उसलाई अब के लेख्ने थाहा पनि भएन। केहि त लेख्नु पर्यो भनेर उसले “btw, thank you for the lift this morning. Didn’t get to thank properly” लेखी।
एकछिन पछि रेस्पन्स आयो।
“no prob. Ma bihana tei time ma janchu. I could drop u in the morning”

उसलाई के लेखुँ लेखुँ भयो। बिहान बिहान दुइटा बस फेरेर कलेज जानुभन्दा यो तरिका ठिक थियो। कोहि केटीले भनेको भए उसले अघिनै हुन्छ पनि भनिसक्थी। तर दिनदिनै जानु उसलाई ठिक होलाजस्तो लागेन।
उसले “no it’s fine. I don’t want to cause any problems” लेखी।
“trust me. it’s no prblm. Bihana ma office jane bato tei ho. Tyasamma jana duita gadi phernu parcha hola timlai. Plus nakabandi ko bela chha.”

उसलाई कुरा ठिकै लाग्यो।

“ok. Thanks then. Will see you around same time tomorrow?”

“sure. Make that 9:15. Ani dherai thnx nabhana :)”

त्यो स्माइलि देखेर ऊ अलिकति हाँसी। प्रेसर कुकरमा सिट्ठि लाग्यो, उसको ध्यान भंग भयो। कहिल्यै बिहान नभए हुन्थ्यो जस्तो लाग्ने उसलाई बिहानीको प्रतिक्षा हुन थाल्यो।

* * *

आज अविनाश ऊ पुग्नु अघि नै पुलमा पुगिसकेछ। हिजो फेसबुकमा कुरा भएकोले उसले आज भने केही कुरा होला भनेर सोचेकी थिई, तर ऊ “बाइकमा अलि राम्ररी बस” बाहेक केही बोलेन, न उसले नै केही भनी।

कलेजबाट घर पुगेपछि भने उसको फेसबुकमा मेसेज आइसकेको थियो।

“so, k chha?”

बिहान भर्खर देख्या त हो नि, ६-७ घण्टामा के नै चेन्ज हुन्छ र?, उसले सोची। तर उसले केहि लेखेकोमा उसलाई रमाइलो पनि लागेर आयो।

“kei chaina. Same old. College le thakera basira. Tei ho. How are things on your side?”

“Ma ni office. Btw, I never asked where u study? Isn’t that weird?”
“haha. Kinda. Campion. BBA. 4th year. Wbu? Where do u work?”
“I look after IT Dwarika hotelma. Nakabandi agadi tyo area ma hamro staff bus chalthyo. Ajkal I have to take my bike”

“eh okay.”

“k garirako aile?”

“nm. geet sunirako.”

“eh. Me too. Which song?”

“haha. I am listening to ‘ghumti ma na aau hai’. Not sure if u know this song.” उसले लेखी।
“are you kidding me? of course I do. Malai ekdum ramro lagchha tyo geet”

यो लेखेर उसले एउटा लिङ्क पठायो, उसको युट्युब प्लेलिस्ट रहेछ। प्लेलिस्टको नाम ‘classic favourites’ थियो। नारायण गोपाल, अरुणा लामा, बच्चु कैलाश, फत्तेमानहरुको गीत प्लेलिस्टमा रहेछ। १४ नम्बरमा उसले पठाएको गीत पनि थियो।

“seems like we got similar taste in music”,उसले लेख्यो।
“seems like it :)”, उसले पठाई।

भात पस्किँदा पनि ऊ त्यै गीत गुनगुनाउँदै थिई।
“….बाँधिए माया फेरि, गार्हो पर्ला फुकाउन। घुम्तिमा नआउ है”

“के हो, आज त खुब गीत गाइँदै छ नि”, आमा उसलाई एक तमासले हेर्दै भन्नुभयो।
उसले आमालाई हेरिमात्र, केही भनिन।
* * *

दिन त्यसरि नै बित्दै गए। अविनाशसँग बाइकमा कलेज जाने गरेको दुई हप्ता भयो। उनीहरु बाटोभर खासै बोल्दैनथे। घर फर्केपछि भने फेसबुकमा कुरा बन्द हुँदैनथ्यो। गीतको, किताबको, फिल्मको, नाकाबन्दिको, मधेसको आन्दोलनको, ऊसँग जति कुरा गरे पनि कुरै सिद्धिदैँनथ्यो। हरेक चोटि आफ्टरशक आउँदा पनि उनीहरु एकअर्कालाई के छ भनेर लेख्थे। उसलाई फेसबुकमा झुन्डिएको देखेर आमा “होइन आजकलका केटाकेटीहरुलाई मोबाइल, कम्प्युटर भएपछि केहि नचाइने। फोन चलाछ, मुसुमुसु हाँस्या छ। गजब छ बा” भन्नथाल्नुभयो।
* * *

एक दिन बेलुका फेसबुकमा उनीहरुको गफ चलिरहेको थियो। मोबाइलमा विपुल क्षेत्रिका गीतहरु एक एक गर्दै बज्दै थिए। अविनाशले उसलाई फेसबुकमा एउटा लिङ्क पठायो। खोलेर हेर्दा विरगंज नाका खुलिएको समाचार रहेछ।

“you know what this means right?”, उसले लेख्यो।

“gas + fuel = happiness?”, उसले लेखी।

“yeah, that. Also, my office texted bholi bata mero gadi aucha re”

उसलाई एक छिन चित्त दुख्यो अनि के लेखुँ, के नलेखुँ भयो। अनि लेखी, -
“that’s great. Petrol black ma kinnu parena aba”
चार मिनेटसम्म प्रत्युत्तर आएन। पछि उसले लेख्यो।

“you know what? for some reason, I don’t want this to end…… the nakabandi, I mean”
उसलाई के लेख्ने के नलेख्ने थाहा भएन। नाकाबन्दिले गरेर उनीहरुको भेट भएको थियो। ग्याँसको लाइन, कलेजबाट फर्किँदा बसमा झुन्डिएर आउनु, यी सब समस्या उसलाई भोलिबाट नभेट्ने डर भन्दा सानो लागेर गयो।

आमाले पल्लो कोठाबाट कराउनुभयो। “लौ! समाचारमा भनेको, सबै नाका खुल्यो रे! बल्ल अब चैँ ग्याँस पाइन्छ होला। धन्न प्रभु!!”

“me neither…..”, उसले लेखी।

मोबाइलबाट सिन्डिकेट बजिरहेको थियो, “तिमी जाने सिलगुडि, म जाने सिक्किमतिर…..”


Tags: , , , , , , , , ,

Categorised in: Reading in Nepali

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *

CAPTCHA Image

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Related Articles